- प्रदेश खवरको सहयोगमा

विराटनगर : प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विराटनगरस्थित कोशी अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थालाई मध्यनजर गर्दै विशेष तयारी गरेको छ।

लोकतन्त्रको महत्वपूर्ण अभ्यासका दिन कुनै पनि स्वास्थ्य जोखिम उत्पन्न हुन नदिन अस्पतालले विशेषज्ञ चिकित्सकसहितको ९ सदस्यीय ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन गरी २४ सै घण्टा हाई अलर्टमा राखेको हो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामनारायण चौधरीका अनुसार टोलीको संयोजक वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. यज्ञराज खरेललाई तोकिएको छ।

टोलीमा डा. मञ्जु यादव, डा. रवि बास्ताकोटी, डा. नवीन सुवेदी, डा. दिवसराज भण्डारी, डा. शन्निकुमार सोनी, डा. पुरनचन साह तथा स्वास्थ्यकर्मी बद्री बस्नेत र अमित झा सदस्य रहेका छन्। विभिन्न विधामा अनुभवी चिकित्सक र स्वास्थ्यकर्मी समेटिएको यो टोलीले आकस्मिक बिरामीको उपचारमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ।

“निर्वाचन लोकतन्त्रको संवेदनशील र महत्वपूर्ण अभ्यास हो। यस्तो समयमा कुनै पनि स्वास्थ्य समस्या देखिए तत्काल प्रभावकारी सेवा दिनु हाम्रो दायित्व हो,” डा. चौधरीले भने, “त्यसैका लागि अनुभवी जनशक्ति परिचालन गरेका छौँ।”

निर्वाचनका दिन मतदान केन्द्रहरूमा मतदाताको चाप बढ्ने, सुरक्षाकर्मी तथा कर्मचारीले लामो समय ड्युटी गर्नुपर्ने, उच्च रक्तचाप, मधुमेह र मुटु सम्बन्धी समस्या भएका नागरिक लामो लाइनमा बस्नुपर्ने अवस्था आउन सक्ने भएकाले आकस्मिक स्वास्थ्य जोखिम बढ्न सक्ने अस्पतालको आकलन छ। साथै सडक दुर्घटना, लडेर घाइते हुने वा झैझगडा जस्ता अप्रत्याशित घटनाको सम्भावनालाई पनि ध्यानमा राखिएको छ।

अस्पताल प्रशासनले आवश्यक औषधि, जीवनरक्षक उपकरण, अक्सिजन, आकस्मिक शल्यक्रिया कक्ष र इमर्जेन्सी बेड तयारी अवस्थामा राखेको जनाएको छ। आपतकालीन कक्षमा अतिरिक्त जनशक्ति परिचालन गरिएको छ भने एम्बुलेन्स सेवा पनि २४ घण्टा स्ट्यान्डबाइमा राखिएको छ।

टोली संयोजक डा. खरेलले निर्वाचन अवधिमा कुनै पनि स्वास्थ्य जटिलता देखिए ढिलाइ नगरी अस्पतालमा सम्पर्क गर्न आग्रह गरेका छन्। “टाउको दुख्ने, छाती दुख्ने, अत्यधिक थकान, बेहोस हुने जस्ता लक्षणलाई सामान्य सम्झेर बेवास्ता नगर्नुहोस्,” उनले भने।

अस्पतालका अनुसार मतदानदेखि मतगणना सम्पन्न नहुँदासम्म टोली सक्रिय रहनेछ। आवश्यक परे मतदान केन्द्र नजिकका स्वास्थ्य चौकी तथा निजी स्वास्थ्य संस्थासँग पनि समन्वय गरिने योजना छ।

लोकतन्त्रको पर्व सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन स्वास्थ्य क्षेत्र पनि उत्तिकै सजग र प्रतिबद्ध रहेको सन्देश कोशी अस्पतालको तयारीले दिएको छ।

तपाईको प्रतिक्रिया