विराटनगर २१ माघ । पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको (एचपिभी) खोप अभियान मोरङमा ममाघ २५ गतेदेखि शुरु गरिने आज एक कार्यक्रमको आयोजना गरि जानकारी गराइएको छ । जिल्ला खोप समन्वय समिति मोरङले आज विराटनगरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय मोरङका प्रमुख योगराज घिमिरेले माघ २५ देखि अभियान शुरु गरिने बताउनुभयो कक्षा ६ मा अध्ययनरन र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका १२ हजार ७५५ बालिकालाई लक्षित गरि अभियान सञ्चालनको तयारी गरिएको सो अवसरमा जानकारी दिइएको थियो ।
मोरङमा ८२७ वटा खोप केन्द्र निर्धारण गरिएको र ३ देखि ५ दिन भित्रमा अभियान सक्ने गरि काम आगाडि बढाएको उहाँले बताउनुभयो । पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा बर्षेनी करिव १ हजार २ महिलाले ज्यान गुमाउनुपरेको स्वास्थ्य प्रमुख घिमिरेले बताउनुभयो । गत वर्ष अभियानमा छुटेका बालिकाहरुलाई यस अभियानमा सहभागि गराईने उहाँले बताउनुभयो । उहाँका अनुशार गत वर्ष ५० हजार बालिकालाई खोप दिईएको थियो ।
उहाँले भन्नुभयो,‘ हरेक स्थानीय तहहरुले भिआईए स्क्रिनिङ नियमित गर्दै आएका छन् । ३० वर्ष देखि माथिको उमेर समूहका महिलाहरुलाई प्राथमिकता दिएर स्थानीय तहहरुले स्क्रिनिङ गर्दै आएका छन् ।’ खोप अभियानमा लक्षित समूह नछुट्ने गरि कार्यक्रम सञ्चालन हुने घिमिरेले बताउनुभयो । अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राईले लक्षित समूहका बालिकाहरु नछुट्नेगरि अभियान सञ्चालन गर्न सुझाव दिनुभयो ।

तपाईको प्रतिक्रिया