विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ८ अन्तर्गत सुकुम्बासी टोलमा दीर्घकालदेखि देखिँदै आएको नाला, ढल व्यवस्थापन तथा सडकको समस्या समाधानका लागि ठोस पहल सुरु गरिएको छ। स्थानीयस्तरमा भएको छलफलपछि नाला निर्माण र सडक मर्मतलाई प्राथमिकतामा राखेर काम अघि बढाउने निर्णय गरिएको हो।
स्थानीय समस्या समाधानका लागि ‘परिवर्तनका लागि आवाज’ समूहको नेतृत्वमा अभिषेक गिरी, मोहम्मद जमशेद आलम, प्रवन यादव, सपना श्रेष्ठलगायतको टोलीले वडा कार्यालयमा लिखित निवेदन पेस गरेको थियो। निवेदनमा वर्षायाममा पानी जम्ने, सडक हिलाम्मे हुने तथा दैनिक आवतजावतमा कठिनाइ हुने समस्या उल्लेख गरिएको थियो।
निवेदन प्राप्त भएपछि वडा नम्बर ८ का अध्यक्ष राम पोखरेलको समन्वयमा माघ ५ गते सोमबार स्थानीय जनप्रतिनिधि र समूहका सदस्यहरूको सहभागितामा छलफल बैठक सम्पन्न भएको थियो। बैठकले सुकुम्बासी टोलको पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै नाला निर्माण, स्रोत व्यवस्थापन तथा सडक मर्मत कार्य अघि बढाउने निर्णय गरेको छ।
बैठकको निर्णयअनुसार करिब २० फिट चौडाइ रहेको सडक क्षेत्रमा दुवैतर्फ २–२ फिट चौडाइको नाला निर्माण गरिनेछ। प्रारम्भिक चरणमा नाला निर्माणका लागि तत्काल ५० हजार रुपैयाँ उपलब्ध गराइने र आवश्यक थप बजेट स्थानीय निकाय, दातृ संस्था तथा सरोकारवालासँगको सहकार्यमा जुटाइने सहमति भएको छ।
नाला निर्माणपछि सडक मर्मत तथा सरसफाइ कार्य पनि सँगसँगै अघि बढाइने जनाइएको छ। सडक मर्मतमा स्थानीयको श्रमदान समेट्ने र आवश्यक प्राविधिक तथा आर्थिक सहयोगका लागि विराटनगर महानगरपालिकासँग समन्वय गरिनेछ।
लामो समयदेखि समस्या भोग्दै आएका स्थानीयवासी प्रक्रिया अघि बढेपछि आशावादी देखिएका छन्। निर्णय प्रभावकारी रूपमा कार्यान्वयन भएमा वर्षायाममा देखिने समस्या न्यूनीकरण हुने र सुकुम्बासी टोलको आवतजावत थप सहज हुने अपेक्षा गरिएको छ।





