विराटनगर, माघ ८ — सरस्वती पूजाको पूर्वसन्ध्यामा विराटनगरस्थित श्री सत्यनारायण माध्यमिक विद्यालयले सडक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयका प्रधानाध्यापक, सह–प्रधानाध्यापक तथा शिक्षकहरूको अगुवाइमा कक्षा ११ र १२ का कानुन तथा इलेक्ट्रिकल इन्जिनियरिङ विषय अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागितामा अभियान सञ्चालन गरिएको हो।

कार्यक्रमअन्तर्गत विद्यालयको पूर्वी सिमाना तथा आसपासका अत्यधिक फोहोर भएका सडक खण्डहरूको सरसफाइ गरिएको विद्यालयले जनाएको छ। अभियानमा सहभागी विद्यार्थी अनुप कार्की र अंकित राजवंशीले समाजमा परिवर्तन आफैंबाट सुरु गर्नुपर्ने धारणा व्यक्त गर्दै सार्वजनिक स्थान सफा राख्नु सबैको दायित्व भएको बताए। उनीहरूले सरसफाइ कार्यक्रमपछि पनि पुनः फोहोर फाल्ने प्रवृत्तिप्रति दुःख व्यक्त गर्दै दीर्घकालीन समाधान आवश्यक रहेको उल्लेख गरे।

विद्यार्थीहरूले सडकमा फोहोर फाल्न निषेध, जनचेतनामूलक होर्डिङ बोर्ड राख्ने, डस्टबिनको व्यवस्था गर्ने तथा फोहोर गर्ने व्यक्तिलाई जरिवाना लगाउने व्यवस्था गर्न माग गरेका छन्। साथै, उक्त क्षेत्रको स्थायी सरसफाइका लागि विराटनगर महानगरपालिकाको ध्यानाकर्षण गराउँदै सहकार्यको अपेक्षा व्यक्त गरिएको छ।

विद्यालयले यस्ता अभियानले विद्यार्थीमा सामाजिक जिम्मेवारी र वातावरणीय चेतना बढ्ने विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया