लेटाङ / लेटाङ नगरपालिकाले निःशुल्क रुपमा सर्पदंश उपचार सेवा उपलब्ध गराउँदै आएको छ । २०६७ सालमा नै सर्पदंश उपचार केन्द्र स्थापना गरिएको भएपनि गतवर्षदेखि आधिकारीक रुपमा दर्ता गरि निःशुल्क रुपमा सर्पदशंको उपचार सेवा प्रदान गर्न थालिएको हो ।

सर्पदंश उपचार केन्द्र सञ्चालनका क्रममा समस्या आएपछि नगरपालिकाले गतवर्ष मंसिरमा आधिकारीक रुपमा सामुदायिक सर्पदंश तथा प्राथमिक उपचार सेवा केन्द्र लेटाङ नाममा दर्ता गरि सुविधा सम्पन्न भवनबाट २४ घण्टे सेवा सुरु गरेको हो ।

सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि नेपाली सेनाको शिक्षालयले २ जना विज्ञ स्वास्थ्यकर्मी उपलब्ध गराएको छ भने नगरपालिकाले चिकित्सकको सेवा उपलब्ध गराइएको छ । उपचारका क्रममा आवश्यक औषधि समेत नगरपालिकाले व्यवस्थापन गरि निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।

सुरुमा लेटाङ नगरपालिका भित्रका विरामीका लागि मात्र निःशुल्क सेवा दिने गरिएकोमा पछिल्लो समय सबै पालिकाका विरामीहरुलाई निःशुल्क सेवा दिन थालिएको हो ।

सर्पदंश उपचारका लागि मानिसहरु आपत्कालिन अवस्थामा आउने र कतिपय विपन्न परिवारका हुने भएकाले नगरपालिकाले निर्णय गरि सबै विरामीहरुलाई निःशुल्क रुपमा सेवा उपलब्ध गराउन थालेको नगर उपप्रमुख कृष्णकुमारी निरौलाले जानकारी दिनुभयो ।

यसअघि नेपाली सेनाको शिक्षालय उत्तरमा रहेको कच्ची भवनमा सञ्चालित सर्पदंश उपचार केन्द्रलाई नेपाली सेनाको शिक्षालयको प्रवेशद्वार नजिकै पक्की भवन निर्माण गरि स्थानान्तरण गरि व्यवस्थित रुपमा सञ्चालन गर्न थालेको हो । यसवर्ष मात्रै हालसम्म ५१ जनालाई सेवा प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया