भारतको सबैभन्दा ठूलो मध्येको एअरलाइन्स कम्पनी इन्डिगोका उडानहरू आज पाँचौं दिन पनि रद्द भएका छन् । इन्डिगोले आज ३ सय ८५ उडान रद्द गरेको र विमानस्थलमा सयौं यात्रु प्रभावित भएका समाचार संस्था रोयटर्सले जनाएको छ ।
पाइलटहरूको काम गर्ने समय सीमित गर्ने नयाँ नियमहरूका लागि पर्याप्त योजना बनाउन असफल भएपछि पाइलटहरूको अभावका कारण इन्डिगोले यस हप्ता हजारौं उडान रद्द गरेको छ । शुक्रवार इन्डिगोले १ हजारभन्दा धेरै उडान रद्द गरेको थियो ।
उडान रद्द हुनु २० वर्ष पुरानो इन्डिगोका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो सङ्कट हो । इन्डिगोको विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देशमा ६० प्रतिशतभन्दा धेरै बजार हिस्सा छ ।
रात्रि उडान र पाइलटहरूका लागि साप्ताहिक आरामसम्बन्धी कडा नियमहरू लागू गर्न नोभेम्बर १ को समयसीमाका लागि उचित योजना बनाउन असफल भएको कम्पनीले स्वीकार गरेको छ । यद्दपि सरकारले इन्डिगोका लागि नियमहरूमा छुटको घोषणा गरेपछि उसले यही डिसेम्बर १० देखि १५ सम्म सामान्य सञ्चालनमा फर्कन सक्ने बताएको छ ।
यसैबीच इन्डिगोको उडान रद्दको क्रमसँगै लोकप्रिय रुटहरूमा अन्य एयरलाइन्सद्वारा सञ्चालित उडानहरूको भाडा बढेपछि सरकारले भाडा घटाएको छ । नागरिक उड्डयन मन्त्रालयले सबै एअरलाइन्सहरूलाई नयाँ भाडा सीमा कडाइका साथ पालना गर्न निर्देशन दिएको छ । नयाँ भाडा सीमा अवस्था सामान्य नभएसम्म लागू रहने खबरमा उल्लेख छ ।
यस्तै मन्त्रालयले इन्डिगोलाई यात्रुहरूलाई बाँकी रहेको रकम स्थानीय समय अनुसार भोलि राति ८ बजेसम्म फिर्ता गर्न निर्देशन दिएको छ । इन्डिगोले पनि रद्द भएका उडानका यात्रुहरूलाई चाँडै नै पैसा फिर्ता गरिने आश्वासन दिएको छ ।
नयाँ नियमले रात्रि अवतरणको सङ्ख्या ६ बाट २ मा सीमित गरेको छ र पाइलटले रातमा उडान गर्न सक्ने अधिकतम घण्टाको सङ्ख्या १० घण्टामा सीमित गरेको छ । अहिलेका लागि इन्डिगोलाई आउँदो फेब्रुअरी १० सम्म दुवै उपायहरूबाट छुट दिइएको छ । नयाँ नियमका कारण एअर इन्डिया र अकासा लगायत अन्य प्रमुख भारतीय एअरलाइन्सहरूले उडानहरू रद्द गर्नुपरेको छैन ।
यसैबीच सरकारले इन्डिगोलाई पाइलट सुरक्षा मापदण्डबाट छुट दिएकोमा पाइलट युनियनहरूले कडा विरोध गरेका छन् ।





