खाेटाङ – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले खाेटाङकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पुरस्कृत गरेको छ । नास्टले आफ्नो ४३औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा नगरपालिकालाई ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ प्रदान गरेको हो ।
बाँसलाई भवन निर्माण, हस्तकला, व्यावसायिक उत्पादन तथा वातावरणमैत्री समाधानका रूपमा रूपान्तरणसँगै बाँससम्बन्धी सीप विकास, प्रविधि विस्तार र उद्यमशीलता प्रोत्साहनमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले नगरपालिकालाई पुरस्कृत गरिएको नास्टले जनाएको छ ।
नगरपालिकाले प्राप्त गरेको पुरस्कार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानबाट निर्माणमा किफायत हुने प्रविधि विकास गर्ने, प्रविधिको अनुसन्धान तथा अनुसन्धानका क्षेत्रमा योगदान दिन सफल अनुसन्धानकर्ता वा संस्थाको प्रोत्साहन तथा सम्मानका लागि स्थापना गरिएको पुरस्कार हो ।
पुरस्कार ग्रहण गर्दै मेयर तीर्थराज भट्टराई यो पुरस्कार नगरवासीको सामूहिक मेहनत र प्रतिबद्धताको परिणाम रहेको बताउनुभयो ।
दिक्तेल रुपाकोट मझुवागढीले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यसहित बाँस तथा बाँससम्बन्धी उद्योगको प्रवर्द्धन गर्दै आएको छ । मेयर भट्टराईको आन्दोलनका कारण सङ्घीय सरकारले बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन स्वीकृत गरेको छ ।





