बुटवल , १६ मङ्सिर ।
नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि विभागले लामो समय सम्म विना टेन्डर सञ्चालनमा रहेको बुटवलका कृषि उपज केन्द्र को टेन्डर अविलम्ब खोल्नको लागि निर्देशन दिएको छ ।
कृषि उपज थोक बजार व्यवस्थापन समिति बुटवललाई मङ्सिर १५ गतेको पत्र लेख्दै विभागका वरिष्ठ कृषि अर्थ विज्ञ कलशराम चौधरीले अविलम्ब टेन्डर प्रक्रिया अगाडी बढाउन र अदालतको फैसला कार्यान्वयन गर्नको लागि निर्देशन दिएका हुन ।
सटर वाहल सम्बन्धी सम्मानित अदालतको फैसला कार्यान्वयनको लागि विभागले पत्र काटेर सचेत समेत गराएको हो ।
पत्रमा कृषि बजार व्यवस्थापन समितिले २०८१ भदौ २४ गते आह्वान गरेको सटरको बेलपत्र सम्बन्धी मुद्दामा अदालतबाट फैसला भइआएको अवस्थामा पनि सटरको बोलपत्र नखुल्नको कारण समेत माग गरेको हो ।
अदालतबाट २०८२ कार्तिक २० गते गरेको अन्तिम फैसला अनुसार सटरको टेन्डर अविलम्ब खोल्नको लागि निर्देशन दिएको थियो ।
विभागले बुटवल उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय रुपन्देही, लुम्बिनी फलफूल तथा तरकारी व्यवसायी सङ्घ रुपन्देहीलाई समेत बोद्धार्थ पत्र दिँदै ‘सटर वाहल सम्बन्धी बोलपत्रको विषयमा सम्मानित जिल्ला अदालत रुपन्देहीबाट अदालतको फैसला कार्यान्वयन गर्ने प्रक्रिया प्रचलित कानुन बमोजिम तुरुन्त अघि बढाउनको लागि निर्देशानुसार अनुरोध छ’ भनी पत्र काटेको हो ।
साथै विभागको पत्रमा सो सम्बन्धी कामको दैनिक प्रगति विवरण समेत विभागको इमेलमा पठाउनको लागि अनुरोध समेत गरेको छ ।
२०८१ भदौ २४ गते कृषि बजार व्यवस्थापन समितिले ६८ वटा सटर भाडामा लगाउने गरी बोलपत्रको सूचना प्रकाशन गरेको थियो । सोही अनुसार ६८ वटा सटरका लागि २६७ वटा बोलपत्र दर्ता भएका छन् ।





