काठमाडौं। एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको उपाधि यूएईले जितेको छ।
साेमबार भएकाे फाइनल खेलमा नेपाललाई २७ रनले पराजित गर्दै युएईले उपाधि जितेको हो। यूएईले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३ ओभर २ बलमा १ सय २० रनमा समेटियो। नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन। रोशन विश्वकर्मा २५, आशिष लुहार २५ र वन्श क्षेत्री ११ रनमा आउट भएका थिए।
त्यसअघि यूएईमा भएको फाइनल खेलमा नेपालविरुद्ध घरेलु टोली ४५ ओभर ५ बलमा १ सय ४७ रनमा अलआउट भएको थियो। यूएईलाई सस्तोमा समेट्न नेपालका दयानन्द मण्डलले सर्वाधिक ६ विकेट लिएका थिए । उनले ६ ओभर ५ बलमा १७ रन खर्चेर ६ विकेट लिए । अपराजित पौडेल २ तथा नितेज पटेल र अशोक धामीले एक-एक विकेट लिएका थिए ।
ब्याटिङमा यूएईका अहमद खुदाददले सर्वाधिक ७१ रन बनाएका हुन् । नुरुउल्ला आयोबीले २६ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् । नेपाल उपविजेता बन्दै एसिया कपमा छनोट भएको हो।





