उर्लाबारी, मङ्सिर १५ गते । मोरङको बेलबारीस्थित ‘कोसी साहित्य–कला परिषद् नेपाल’ ले एक करोड रुपियाँको साहित्य कला अक्षयकोष निर्माण गर्न एक रुपियाँ अभियान सुरु गरेको छ ।

बेलबारी बहुमुखी क्याम्पसको सभा हलमा आयोजित संस्थाको औपचारिक सार्वजनिकीकरण तथा बेलबारीका ऐतिहासिक, सामाजिक तथा साहित्यिक व्यक्तित्व, ‘साहित्यकार पुण्यप्रसाद सुवेदीको जीवनी, व्यक्तित्व तथा कृतित्वमाथिको विमर्श’ कार्यक्रममा उक्त अभियान सुरु गरिएको हो ।

कला, साहित्य र संस्कृति क्षेत्रमा काम गरिरहेको बेलबारी क्षेत्रका दर्जन बढी सङ्घ, संस्थाहरू आवश्यक कोषको अभावमा स्थापना हुँदै दुई–चार वर्षपछि बन्द हुन थालेपछि अक्षयकोषको अभियान सुरु गरेको कोसी साहित्य–कला परिषद् नेपालका सचिव नवराज पोखरेलले बताउनुभयो ।

वरिष्ठ साहित्यकार एवम् पूर्व सांसद हर्कमान तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राई, साहित्यकार केशव आचार्य, समीक्षक डा. दीपकप्रसाद न्यौपाने, कवि समीक्षक मिश्र बैजयन्ती, भाषाविद् अमृतप्रसाद आचार्य, सुकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई, नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, छन्दवाटिका नेपाल, विराटनगरका अध्यक्ष हरि कट्टेल, झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिकले अभियानप्रति ऐक्यबद्धता जनाउनुभयो ।

यसैगरी बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष इन्द्रप्रसाद घिमिरे, बेलबारी प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रेखा सुवेदीलगायतले साहित्यिक संस्थाहरू धेरै भए पनि गतिविधि सञ्चालन गर्न आर्थिक कठिनाइ रहेकाले स्थायी कोषको आवश्यकता रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा डा. दीपकप्रसाद न्यौपाने र मिश्र बैजयन्तीले पुण्यप्रसाद सुवेदीको जीवनी, व्यक्तित्व र कृतित्वमाथिको विमर्श प्रकाश पार्नुभयो । न्यौपानेले सुवेदीको काव्यकारितामा र मिश्रले आख्यानकारितामा प्रकाश पार्नुभएको थियो । पुण्यप्रसाद सुवेदी २०३० को दशकका प्रशिद्ध साहित्यकार हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया