विराटनगर — विराटनगरस्थित एभरेष्ट सेकेन्डरी स्कूलमा आयोजना गरिएको अन्तर–हाउस बास्केटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले उद्घाटन गरेको प्रतियोगिता एभरेष्टकै अन्तर्राष्ट्रिय मानकको कोर्टमा सञ्चालन गरिएको थियो।

शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा पुरुषतर्फ चार तथा महिलातर्फ दुई हाउसले प्रतिस्पर्धा गरेका थिए। शनिबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ कोशी हाउस विजयी बनेको छ। कोशीले गण्डकी हाउसलाई १६–४ को ठूलो अन्तरले पराजित गरेको हो। कोशी हाउसका कक्षा १० का अल्तमास खानले एक्लैले १४ अंक जोड्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिएका थिए।
गण्डकी हाउसले मेचीलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो भने कर्णालीलाई पराजित गर्दै कोशी फाइनल पुगेको थियो।

महिला तर्फको फाइनलमा मेची र कोशी हाउस आमनेसामने भएका थिए। खेलमा कोशीले मेचीलाई ८–२ ले पराजित गर्दै उपाधि हात पारेको हो। कोशीका लागि कक्षा १० की अन्मेशा श्रेष्ठले ५ अंक जुटाइन्।

प्रतियोगितामा कक्षा ४ देखि १० सम्मका विद्यार्थी–खेलाडीले सहभागिता जनाएको जानकारी विद्यालयकी अतिरिक्त क्रियाकलाप इन्चार्ज सुधा डंगोलले दिनुभयो।

तपाईको प्रतिक्रिया