विराटनगर — जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय इटहरीमा गरिएको आगजनी र तोडफोड प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका–३ का २९ वर्षीय विजय लिम्बू, भोजपुर याङपाङ घर भई इटहरी–४ बस्ने ४७ वर्षीय मदन खत्री, इटहरी–४ का २४ वर्षीय सोनम कार्की, इटहरी–५ का ४४ वर्षीय दीपेन्द्रकुमार कार्की र इटहरी–८ का २४ वर्षीय आभाष कार्की रहेका छन्।
गत भदौ २४ गते इटहरीस्थित प्रहरी भवन तथा सवारीसाधनमा आगजनी र तोडफोड भएको थियो। पक्राउ परेकाविरुद्ध आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गरिएको र सुनसरी अदालतबाट म्याद थप भएर अनुसन्धान प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ।





