काठमाण्डौ – जेन–जी अगुवाहरूसँग छलफल गर्दागर्दै अस्वस्थ भएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ । उहाँ महाराजगन्जमा रहेको मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको हो ।
राष्ट्रपतिसँग छलफल गर्न भन्दै २० जना जेन–जी अगुवा बिहान शीतलनिवास पुगेका थिए । तर राष्ट्रपति पौडेलको स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल पुर्याइएकाे थियो । उहाँमा टाउको दुख्ने र वान्ता हुने समस्या देखिएको अस्पतालले जनाएको छ ।
भदौको २३ र २४ गते भएको जेन–जी प्रदर्शनपछि सेनासँगको छलफल र त्यसपछिका वार्ता लगायतमा संलग्न सुधन गुरुङ, रक्षा बम, युजनराज भण्डारी, मिराज ढुङ्गाना लगायत जेन–जी अगुवाहरु शीतलनिवास पुगेका थिए ।
छलफलमा प्रधानमन्त्री सुशीला कार्कीको समेत सहभागीता थियो । भित्र छलफल चलिरहँदा कतिपय युवाले भने आफूहरु वार्तामा जान नपाएको भन्दै राष्ट्रपति कार्यालय बाहिर असन्तुष्टि व्यक्त गरेका थिए । राष्ट्रपति पौडेल अस्वस्थ भएपछि जेन–जी अगुवाहरुसँगको छलफल पर्सि सोमवारका लागि सारिएको राष्ट्रपती कार्यालयले जनाएको छ ।