रसुवा, २५ कात्तिकः ‘नागथली’ आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।
रसुवाको नागथली समुद्री सतहबाट तीन हजार १६५ मिटरको उचाइमा रहेको छ । गोसाइँकुण्ड गाउँपालिका–१, थुमनमा पर्ने यो क्षेत्र प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधताको सङ्गम मानिन्छ । स्थानीय भाषामा ‘नगथली’ भनेर चिनिने यो स्थान हाइकिङ र हिमाली दृश्यावलोकनका लागि उपयुक्त मानिन्छ ।
गुम्बानजिकै नागको थान रहेकाले यस ठाउँको नाम ‘नागथली’ रहन गएको स्थानीय बासिन्दाको भनाइ छ । प्राचीन कालमा गुरु रिम्बोर्छेले यस क्षेत्रमा तपस्या गरी गुम्बा निर्माण गरेको जनविश्वास छ । गुम्बाभित्र भगवान् बुद्ध, चेरेसी र गुटासिङतोङका मूर्तिहरू रहेका छन् ।
चन्द्रपात्रोअनुसार प्रत्येक वर्ष वैशाख र असोज महिनाको पूर्णिमाका दिन यहाँ विशेष पूजाआजासहित मेलालाग्ने गर्दछ । मुख्य गुम्बाको उत्तर–पश्चिम कुनामा अर्को गुम्बा तथा विभिन्न धार्मिक एवं ऐतिहासिकस्थल रहेका छन् ।
यस क्षेत्रमा गुरु रिम्बोर्छेको पैतालाको डोब, पाप र धर्म छुट्याउने विश्वास गरिएको सुरुङ, ‘खण्डोमो क्षाम्सा’ (देवी नाच्ने थान) र प्राचीन ढुङ्गे गुफा अवलोकन गर्न सकिन्छ । साथै, गुरु रिम्बोर्छेले मन्त्रद्वारा निकालेको भनिएको कहिल्यै नसुक्ने सानो पानीको मुहानलाई स्थानीय तथा भक्तजनले पवित्र जलका रूपमा प्रयोग गर्दै आएका छन् ।
नागथलीबाट गगनचुम्बी हिमशृङ्खला र हिमनदी (ग्ल्यासियर) को मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । पदमार्गको छेउछाउमा बग्ने नदी, विभिन्न प्रजातिका लालीगुँरास, माने, छुर्तेन र फराकिला खर्कमा चरिरहेका याक, चौँरी गाई तथा भेडाका बथान यहाँका मुख्य आकर्षण हुन् ।
यस क्षेत्रको वनजङ्गलमा हिमचितुवा, घोरल, थारल, भालु, बँदेल र लङ्गुर बाँदरलगायतका लोपोन्मुख वन्यजन्तु पाइन्छन् । नागथलीबाट करिब दुई घण्टाको पैदलयात्रामा ‘तरुचे’ पुग्न सकिन्छ । तरुचेबाट छिमेकी मुलुक चीनतर्फका ठोङ्सा, नेस्यारगाउँ र च्याङगाउँ वरपरका भूभागहरू स्पष्ट देख्न सकिन्छ । यस्तै, नागथलीबाट करिब एक दिनको पैदलयात्रामा गणेश हिमालको फेँदीसम्म पुग्न सकिन्छ । यस क्षेत्रको ऐतिहासिक ‘माला गढी’ पनि पर्यटकका लागि अर्को आकर्षणको केन्द्र बनेको छ ।
नागथली पुग्नका लागि सामान्य अवस्थामा पासाङल्हामू राजमार्गको स्याफ्रुबेँसी–टिमुरे खण्डमा पर्ने रोङ्गाबाट मेन्दो र थुमन गाउँ हुँदै जान सकिन्छ । थुमन गाउँबाट करिब चार घण्टाको ठाडो उकालो चढेपछि नागथली पुगिन्छ ।
यसैगरी, ‘तामाङ सम्पदा मार्ग’अन्तर्गत स्याफ्रुबेँसीबाट गोल्जुङ, गतलाङ र चिलिमे (तातोपानी) हुँदै नागथली पुग्ने अर्कामार्ग रहेको छ । यद्यपि, गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक सञ्जाल बगाएपछि करिब साढे दुई महिनासम्म यस क्षेत्रको आवागमन पूर्ण रूपमा बन्द भएको थियो । हालै स्थानीय बासिन्दाको श्रमदानबाट भोटेकोशी नदीमा काठेपुल निर्माण गरिएपछि आवतजावत पुनः सुरु भएको छ । सडक सञ्जाल अवरुद्ध भएका कारण हाल पर्यटकले स्याफ्रुबेँसीदेखि नै पैदलयात्रा (हाइकिङ) गरेर नागथली पुग्नुपर्ने अवस्था रहेको छ ।
तिब्बती, शेर्पा र तामाङ समुदायको मौलिक संस्कृति, भेषभूषा र रहनसहन यहाँको अर्को विशेषता हो । पर्यटकको आगमन बढेसँगै यस क्षेत्रमा पूर्वाधार र आतिथ्यताको सुविधासमेत विस्तार हुँदै गएको गोसाइँकुण्ड गाउँपालिका–१ का वडाध्यक्ष उर्केन लामा बताउनुहुन्छ ।
वडाध्यक्ष लामाका अनुसार पर्यटकको सहजताका लागि वडा कार्यालयबाट बजेट तथा आवश्यक योजना बनाएर व्यवस्थापन गरिएको छ । “पहिले यहाँ एउटा मात्रै होटल थियो, अहिले पर्यटकको चाप बढेसँगै करिब छ वटा होटल तथा लजहरू सञ्चालनमा आइसकेका छन्”, वडाध्यक्ष लामाले भन्नुभयो, “बाढीले सडक बगाए पनि स्थानीयको श्रमदानमा काठेपुल बनेपछि अहिले स्याफ्रुबेँसीदेखि नै हाइकिङ गर्दै आउने पर्यटकका लागि बाटो खुलेको छ ।”
यस्तै, रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने नागथली पदयात्रा र सांस्कृतिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएको बताउनुहुन्छ । अध्यक्ष न्यौपानेले भन्नुभयो, “काठमाडौँबाट नजिकै रहेर पनि हिमाली जनजीवन, चौँरी खर्क, लालीगुँरास र चीनको सीमावर्ती क्षेत्रको दृश्यावलोकन एकैसाथ गर्न पाइने भएकाले नागथलीको प्रर्वद्धनमा पर्यटन समाजले विशेष जोड दिएको छ । स्थानीयको श्रमदानमा काठेपुल बनेसँगै अहिले पदयात्रीका लागि यो मार्ग झनै रोमाञ्चक बनेको छ ।





