महेश भट्टराई

मोरङ / झङडाही झोराहाट, कात्तिक २३ गते सोमबार । पूर्वी नेपालका प्रमुख सहरहरूमा गाईपूजा अर्थात् गोवर्धन पूजाका अवसरमा गाईको पूजा आराधना श्रद्धा र भक्तिभावका साथ गरिएको छ।

नेपाली हिन्दू धर्मावलम्बीहरूले गाईलाई लक्ष्मीको प्रतीक तथा राष्ट्रिय जनावरका रूपमा सम्मान गर्दै गाईलाई माला लगाइदिने, टीका लगाउने, मिठा परिकार तथा घाँस खुवाएर पूजा गरेका हुन्।

विराटनगर, धरान, इटहरी, दमक, बिर्तामोडलगायतका सहरहरूमा बिहानैदेखि गाईपूजाको चहलपहल देखिएको थियो। कतिपय स्थानमा गाईलाई सजाएर बजार तथा बस्तीका सडकमा घुमाइएको थियो।

धार्मिक मान्यताअनुसार गाईलाई माता लक्ष्मीको प्रतीकका रूपमा पुजिने परम्परा रहेको छ। गाईको पूजा गर्दा सुख, शान्ति, समृद्धि र पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। साथै जनैपूर्णिमाका दिन बाँधिएको रक्षासूत्र गाईको पुच्छरमा बाँध्ने परम्परासमेत रहेको छ।

झोराहाटमा श्रद्धा र भक्तिभावका साथ गाईपूजा गरियो
हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व गाईपूजा झोराहाट क्षेत्रमा श्रद्धा र भक्तिभावका साथ मनाइएको छ।

गाईपूजाका अवसरमा झोराहाटका विभिन्न टोल तथा बस्तीमा स्थानीयवासीहरूले बिहानैदेखि गाईको पूजा आराधना गरेका थिए। गाईलाई माला, टीका लगाइदिई मिठा परिकार तथा घाँस खुवाएर पूजा गरिएको थियो।

स्थानीयवासीहरूले गाईलाई गौमाताका रूपमा सम्मान गर्दै परिवारको सुख, शान्ति, आरोग्य र समृद्धिको कामना गरेका थिए। हिन्दू धार्मिक मान्यताअनुसार गाईको पूजा गर्दा पुण्य प्राप्त हुने तथा मृत्युपछि वैतरणी नदी पार गर्न गाईले सहयोग गर्ने विश्वास रहिआएको छ।

गाईपूजाले नेपाली समाजमा धार्मिक आस्था, संस्कार, संस्कृति तथा पशुपक्षीप्रतिको सम्मान र संरक्षणको सन्देश दिएको छ।

तपाईको प्रतिक्रिया