विराटनगर । अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको अवसरमा गैर सरकारी संस्था महासंघ नेपालले विराटनगरमा सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। अक्टोबर १३ मा सातवटै प्रदेशमा मनाइने दिवसका अवसरमा आयोजित कार्यक्रममा बिभिन्न संस्थाका प्रतिनिधि, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा महासंघकी अध्यक्ष विष्णु शर्माले पछिल्लो समय भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोका कारण प्रभावित बनेका नागरिकलाई सबैको साथ र सहयोग आवश्यक रहेको बताइन्। विपद्का कारण कतिपयले ज्यान गुमाउनु परेको र कतिपयले घरबार गुमाएको उल्लेख गर्दै उनले विपद् जोखिम न्यूनीकरणका लागि सचेतना र पूर्वतयारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।
त्यसैगरी, गैरसरकारी संस्था महासंघ कोशी प्रदेश समितिका कोषाध्यक्ष विनोद विश्वकर्माले बाढीपहिरोबाट ठूलो जनधनको क्षति हुने भएकाले विपद् व्यवस्थापनमा सबै सचेत हुनुपर्ने बताए। विपद् जुनसुकै बेला आउन सक्ने भएकाले पूर्वतयारी योजना बनाउन र सरकारको प्रयासमा सहयोग गर्दै सबै संघसंस्थाले हातेमालो गर्न आवश्यक रहेको उनले उल्लेख गरे।
विपद्को जोखिम न्यूनीकरण, पूर्वतयारी र नागरिकमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ। कार्यक्रमको सहजीकरण महासंघका केन्द्रीय सदस्य तथा कोशी प्रदेश इन्चार्ज लखनलाल शाहले गरेका थिए।

तपाईको प्रतिक्रिया