धनकुटा । विराटनगरबाट शव बोकेर भोजपुरतर्फ जाँदै गरेको एम्बुलेन्स धनकुटामा दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्कुलडाँडास्थित मध्यपहाडी लोकमार्गमा आइतबार बिहानका राति १२ः३० बजेतिर एम्बुलेन्स दुर्घटनामा परेको हो । विराटनगरबाट शव लिएर भोजपुरतर्फ जाँदै गरेको रामप्रसाद राई गाउँपालिकाद्वारा सञ्चालित बा प्र–०१–०२–००२ झ ६१९० नम्बरको महिन्द्रा बोलेरो एम्बुलेन्स अनियन्त्रित भएर सडकबाट करिब तीन मिटर तल खोल्सीमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा एम्बुलेन्स चालक भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ का २१ वर्षीय शक्ति राई गम्भीर घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
त्यस्तै, रामप्रसाद राई गाउँपालिका–७ का ४६ वर्षीय रामनन्द राई घाइते भएका छन् । कम्मरमा चोट लागेका उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।दुर्घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले दुवै जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाएको थियो । प्रहरीका अनुसार तीव्र गतिका कारण एम्बुलेन्स दुर्घटनामा परेको प्रारम्भिक अनुमान छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया