विराटनगर । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, कोशी प्रदेशको आयोजनामा कर्मचारीहरूका लागि सम्पत्ति शुद्धीकरणसम्बन्धी एकदिने तालिम विराटनगरमा सम्पन्न भएको छ।

कम्पनीका कोशी प्रदेश प्रमुख शुभाष दाहालको सभापतित्वमा सम्पन्न तालिममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले कर्मचारीहरूलाई सम्पत्ति शुद्धीकरण, यसको जोखिम तथा बीमा क्षेत्रमा अपनाउनुपर्ने सावधानीका विषयमा प्रशिक्षण दिएका थिए।

तालिममा बीमा व्यवसायमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्था, शंकास्पद कारोबारको पहिचान, ग्राहकको विवरण तथा कारोबारको उचित अभिलेखीकरण, जोखिम मूल्यांकनलगायतका विषयमा जानकारी प्रदान गरिएको थियो। बीमा क्षेत्रलाई पारदर्शी, उत्तरदायी र जोखिमरहित बनाउन कर्मचारीहरूमा सम्पत्ति शुद्धीकरणसम्बन्धी ज्ञान र व्यवहारिक क्षमता आवश्यक रहेकोमा तालिममा जोड दिइएको थियो।

कार्यक्रममा भास्कर वाग्लेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नवराज शाक्यले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा कम्पनीका कर्मचारीहरूको सहभागिता रहेको थियो।

पछिल्लो समय वित्तीय अपराध तथा अवैध सम्पत्तिको कारोबार नियन्त्रणका लागि सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ। यही अवस्थालाई मध्यनजर गर्दै एनएलजी इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूलाई यस विषयमा थप दक्ष र सचेत बनाउने उद्देश्यले विभिन्न समयमा विभिन्न प्रदेशमा तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

कम्पनीले यस्ता कार्यक्रमले कर्मचारीहरूको व्यावसायिक क्षमता अभिवृद्धि हुनुका साथै बीमा व्यवसायमा सुशासन, पारदर्शिता र नियामकीय अनुपालनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया