काठमाडौं। निजी क्षेत्रका उद्यमी व्यवसायीका छाता संगठनका प्रमुखहरुले सरकारसँग उद्यमी व्यवसायीलाई मर्यादित भाषा बोलिदिन आग्रह गरेका छन्।

आज नेपाल आर्थिक पत्रकार समाज सेजनको २८औं वार्षिक साधारणसभामा उपस्थित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सरकार र राजनीति वृत्तबाट व्यवसायीलाई मर्यादित भाषा प्रयोग गर्न आग्रह गरेका हुन्।

कोभिड महामारीयता अर्थतन्त्र अप्ठेरोमा रहेकाले राज्यकै पहलबाट समस्या समाधान गर्नुपर्ने धारणा उनको थियो।

अग्रवालका अनुसार सरकारको प्रोत्साहनपछि अहिले प्रधानमन्त्री राहत कोषमा रकम राख्न प्रतिस्पर्धा चलिरहेको छ। त्यसैगरी सरकारले पनि निजी क्षेत्रलाई साथ लिएर अगाडि बढ्न उनले सुझाव दिए।

नेपाल उद्योग परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले अर्थतन्त्र चलायमान बनाउन पुँजीगत खर्च बढाउन सुझाव दिए।विधमान कानुनी जटिलता हटाउँदै व्यावसायिक लगानी बढाउनुपर्ने समेत उनले बताए। यसमा परिसंघले निरन्तर पहल गरिरहेको उनको भनाइ छ।

नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष अञ्जन श्रेष्ठले विगतदेखि आजसम्म सबै सरकारले निजी क्षेत्रलाई मात्र दोषी देखाउने गरेको गुनासो गरे।
अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रलाई गाली गरेर मात्र अर्थतन्त्र सुधार नहुने बताए। सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

‘बन्द कोठामा छलफल गरेर मात्र नीति बनाउनुहुँदैन,’ श्रेष्ठले भने, ‘सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्रै निर्णय गरिनुपर्छ।’ निजी क्षेत्रलाई सम्मान गर्दै उनीहरूका सुझाव र समस्या सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने उनले बताए ।

‘सबैले निजी क्षेत्रलाई गाली मात्र गर्ने काम भयो, ‘उनले भने, परिवर्तनको सोचबाट आउनुभएका तपाईंहरू अब त्यो नगरिदिनुस्। उनले बाढी प्रभावितको पुनरुत्थानमा निजी क्षेत्रले हातेमालो गर्नेसमेत बताए ।

निजी क्षेत्रले अर्थतन्त्र चलायमान बनाउन सरकारसँग सहकार्य बढाउनुपर्नेमा जोड दिँदै नीतिगत स्थिरता, कानुनी सुधार र पुँजीगत खर्च वृद्धि गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया