विराटनगर : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका युवकको पहिचान खुलेको छ। मृतक देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहता रहेको सुनसरी प्रहरीका निमित्त प्रमुख डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए।
उनका अनुसार गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा आइतबार राति करिब ११ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
दुई समूहबीच उत्पन्न विवाद झडपमा परिणत हुँदै हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। उक्त घटनामा गोली लागेर १० जना सर्वसाधारण घाइते भएका थिए।
अन्य घाइतेहरूको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम, नोबेल मेडिकल कलेज तथा अन्य अस्पतालमा उपचार भइरहेको डीएसपी खड्काले बताए।
घटनामा घाइते भएका सर्वसाधारणमध्ये कोशी अस्पतालमा उपचाररत २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादव रहेका छन्।
उनीहरूमध्ये अधिकांशको बाँया कोखा, काँध तथा हातमा चोट लागेको छ भने अमितकुमार यादवलाई थप उपचारका लागि राति १२ः१५ बजे विराट नर्सिङ होममा रिफर गरिएको छ।
यस्तै, विराट नर्सिङ होममा उपचाररत घाइतेहरूमा २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहता रहेका छन्।
रविन्द्र मेहताको बाँया तिघ्रामा गम्भीर चोट लागेको छ भने अन्यको कम्मर, घुँडा र हातको कुहिनामा चोट लागेको छ। उनीहरूमध्ये अधिकांशको अवस्था मध्यमदेखि सामान्य रहेको छ।
झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन्। राईको टाउकोमा चोट लागेर पाँच वटा टाँका लगाइएको छ। साथै प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, प्रहरी विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव पनि घाइते भएका छन्। उनीहरूमध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार युवाहरूको एक समूह डिजे बजाउँदै साउने सोमबारको बोलबम यात्राका लागि सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो। सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै अवरोध गर्न खोजेपछि दुई पक्षबीच विवाद सुरु भएको थियो।
स्थानीय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमरेश मेहताका अनुसार आइतबार राति करिब ९ बजेतिर सामान्य विवाद सुरु भएको थियो। पछि विवाद उग्र बन्दै गएर दुई पक्षबीच आक्रमण, आगजनी र तोडफोड हुन थालेको उनले बताए।
प्रहरी घटनास्थल पुग्दासम्म अवस्था नियन्त्रणबाहिर पुगिसकेको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थल पुग्दा घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनी भइरहेको थियो भने दुई पक्षबीच झडप जारी रहेको प्रहरीले जनाएको छ।
स्थिति नियन्त्रणबाहिर गएपछि सुनसरीको सदरमुकाम इनरुवामा जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेको थियो।
बैठकले अवस्था तत्काल नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउनु परेको निष्कर्ष निकालेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
-प्रदेश खवरको सहयोगमा







