काठमाडाैं, असार २९

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा कुन प्रदेशमा कुन राजनीतिक दलले अग्रता लेला ? सर्वत्र चासो थियो । तर, सबभन्दा बढी चासो ७ नम्बर प्रदेशमा रह्यो । कांग्रेस सभापति शेरबहादुर देउवाको गृहप्रदेश रहेको सो प्रदेशमा चुनाव देउवा प्रधानमन्त्री भएपछि भएका कारण परिणाम आफ्नो पक्षमा पार्ने अपेक्षा धेरैको थियो । तर, परिणाम त्यसको उल्टो निस्किएको छ ।

आफ्नो गृहप्रदेशमा कांग्रेसको साख जोगाउन प्रधानमन्त्री देउवाले राज्यशक्तिको अत्यधिक दुरुपयोग गरे पनि सो प्रदेशमा नेकपा (एमाले) नै अगाडि रह्यो । अहिलेसम्मको परिणामअनुरुप एमालेले ३९ तहमा जितेको छ भने कांग्रेस ३८ तहमा सीमित रहेको छ । माओवादी केन्द्रले १३ तह जितेको छ ।

७ नम्बर प्रदेशमा कांग्रेसको साख र आफ्नो इज्जत जोगाउन प्रधानमन्त्री देउवाले सो प्रदेशबाट राष्ट्रिय राजनीतिमा बेग्लै उचाइँ बनाउन सफल एमाले उपाध्यक्ष भीम रावलसँग लडाइँ नै लडे । प्रधानमन्त्री देउवालाई सबभन्दा ठूलो त्रास नै उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका रावलसँग थियो । एमालेको राम्रो पकड मानिने अछाममा रावलको साख गिराउन देउवाले व्यापक रुपमा राज्यशक्तिको दुरुपयोग गरे र माओवादी केन्द्रसँग अपवित्र चुनावी गठबन्धन गरेरै भए पनि एमाले हराउने अभियानमा लागे ।
त्यसो त ७ नम्बर प्रदेशमा पहिलो चरणमै निर्वाचन नहुने कुनै कारण थिएन । सो प्रदेशमा मधेसी दलहरुको खासै प्रभाव नभएको र मधेसीहरुको आन्दोलनले पनि नछोएको हुँदा पहिलो चरणमै निर्वाचन हुने सम्भावना रहँदारहँदै दोस्रो चरणमा सारिनुमा देउवा नै कारक रहेका थिए । आफू सत्तामा नगई सो प्रदेशमा चुनाव गराउँदा परिणाम अनुकूल नआउने ठानेर नै देउवाको दबाबमा सो प्रदेशको निर्वाचन दोस्रो चरणमा सारिएको थियो ।

आफूले सत्ताको नेतृत्व लिएपछि राज्यशक्ति दुरुपयोग गरेरै भए पनि चुनावी परिणाम ल्याउन सकिने ठानेर नै देउवा सो प्रदेशको चुनाव दोस्रो चरणमा सार्न सफल भए पनि एमालेको सुदृढ र मजबुत संगठन र पार्टीलाई एक ढिक्का गरेर लैजान सकेकै कारण सो प्रदेशमा पहिलो स्थान ल्याउन सफल भएको देखिएको छ ।

२०७० को संविधानसभाको दोस्रो निर्वाचनमा सो प्रदेशमा एमाले र कांग्रेसले ९–९ सिट जितेका थिए । संविधानसभाको निर्वाचनमा पनि एमाले र कांग्रेसको टक्कर परेको सो प्रदेशमा यी दुई दलबीच अधिकांश तहमा टक्कर परे पनि एक तहमा मात्रै भए पनि एमालेले अग्रता कायम गरेको छ ।

राज्यशक्तिको दुरुपयोगका कारण ७ नम्बर प्रदेशको अछाम र बाजुराजस्ता जिल्लामा एमालेले आशातित सफलता पाउन नसके पनि कांग्रेसको राम्रो आधार मानिँदै आएको कैलाली र कञ्चनपुरमा भने एमालेले सफलता पाएको छ । ती दुवै जिल्लाका बहुसंख्यक तहमा एमालेले चुनाव जितेको छ भने जिल्ला समन्वय समिति पनि आरामपूर्वक बनाउन सक्ने देखिएको छ ।

कसले कहाँ, कति जिते ?
एमाले– कञ्चनपुर–५, कैलाली–७, डडेलधुरा–२, डोटी–५, अछाम–३, बाजुरा–३, बझाङ–८, बैतडी–३ र दार्चुला–३
कांग्रेस– कञ्चनपुर–२, कैलाली–३, डडेलधुरा–४, डोटी–३, अछाम–५, बाजुरा–६, बझाङ–४, बैतडी–६ र दार्चुला–५

पहिलो न्यूज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here